निर्वाचनलक्षित चिठी एमालेका ६ लाखभन्दा बढी संगठित सदस्यलाई



काठमाडौं,माघ ११— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका संगठित सदस्यहरूलाई निर्वाचनलक्षित चिठी पठाउनुभएको छ। एमालेले देशभर रहेका ६ लाख ६७ हजारभन्दा बढी संगठित सदस्यलाई अध्यक्ष ओलीको हस्ताक्षरसहित चिठी पठाएको जनाएको छ।

पार्टीका अनुसार पहिले संगठित सदस्य रहेर हाल सदस्यता नवीकरण नगरेका व्यक्तिहरूलाई समेत उक्त चिठी पठाइएको छ। चिठी प्राप्त भएको भन्दै केही सदस्यहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न थालेका छन्।

एमालेले अध्यक्ष ओलीको हस्ताक्षरसहित एउटै सन्देश समेटिएको चिठी सदस्यहरूलाई पठाएको हो। सो चिठी आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरिएको बताइएको छ।

चिठीमा फागुन २१ को निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने निर्णायक मोड तय गर्ने उल्लेख गरिएको छ। साथै, देश निर्माणका लागि एमालेलाई बहुमत आवश्यक रहेको कुरा पनि अध्यक्ष ओलीले चिठीमार्फत उल्लेख गर्नुभएको छ।

यसअघि पनि अध्यक्ष ओलीको हस्ताक्षरसहित यस्तै सन्देश समेटिएको चिठी पार्टीका केन्द्रीय सदस्यहरूलाई पठाइएको एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्