पायल्सको अप्रेसन गर्दा १८ वर्षीया युवतीको ज्यान गयो



सर्लाही,माघ ११ — पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा अवैध रूपमा सञ्चालित आयुर्वेद औषधालयमा पायल्सको अप्रेसन गराउँदा आइतबार दिउँसो एक युवतीको मृत्यु भएको छ।

नवलपुर चोकदेखि उत्तरतर्फ रहेको मोहन आयुर्वेद औषधालय मा उपचारका क्रममा लालबन्दी नगरपालिका–२ पुनर्वास निवासी बिपिन्द्र पासवानकी १८ वर्षीया छोरी हङ्शु पासवानको ज्यान गएको प्रहरीले जनाएको छ। अप्रेसनका क्रममा युवती अचेत भएपछि परिवारका सदस्य र औषधालयका सञ्चालक तथा वैद्य रामविनय साहले उनलाई थप उपचारका लागि हरिवनस्थित नमूना अस्पताल लगेका थिए।अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ।

औषधालयको लापरवाहीका कारण युवतीको मृत्यु भएको आरोप लगाउँदै स्थानीयवासीले आइतबार दिउँसो नवलपुर चोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। प्रहरीले सम्झाइबुझाइ गरेपछि साँझबाट चक्काजाम खुलाइएको छ। मृतक युवतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ। घटनापछि पायल्सको अप्रेसन गर्ने रामविनय साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो ।लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उक्त आयुर्वेद औषधालय अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ। स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानीका अनुसार औषधालयले नगरपालिकाबाट सञ्चालन अनुमति लिएको छैन।

लालबन्दी नगरपालिका–२ का वडाध्यक्ष किरणकुमार पासवानले नवलपुर क्षेत्रमा अवैध स्वास्थ्य संस्थाका कारण यसअघि पनि बिरामीहरू समस्यामा परेको गुनासो आएको बताउनुभयो। केही समयअघि एक स्वास्थ्य संस्थाले सामान्य बिरामीलाई प्लास्टर गरेर महँगो शुल्क असुलेको विषयमा अनुगमन गर्न जाँदा विवादसमेत भएको थियो। गत वर्ष पूर्व मुख्यमन्त्री सतीशकुमार सिंहले नवलपुर क्षेत्रमा रहेका अवैध स्वास्थ्य संस्थाको अनुगमन गरी केही बन्द गराएका थिए। तर पुनः त्यस्ता संस्था सञ्चालनमा आएको स्थानीयको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्