निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी व्यवस्थापन तीव्र



काठमाडौँ, माघ १२ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्रमा कर्मचारी खटनपटनको तयारी तीव्र बनाएको छ। पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा ९ जना र पाँच सयसम्म मतदाता भएका केन्द्रमा ८ जना कर्मचारी खटाइने जनाइएको छ। अस्थायी मतदान केन्द्रमा भने ५ जना कर्मचारी रहनेछन्। देशभर २३,११२ मतदान केन्द्र तोकिएका छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सबै केन्द्रमा कर्मचारी व्यवस्थापन गर्दा करिब २ लाख १३ हजार जनशक्ति आवश्यक पर्नेछ। निजामती कर्मचारी अपुग भए शिक्षक र सार्वजनिक संस्थानका कर्मचारीसमेत परिचालन गरिनेछ। मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमा आवश्यक कर्मचारी खटाइसकिएको आयोगले जनाएको छ। मतदान केन्द्रमा भने निर्वाचन नजिकिँदै जाँदा कर्मचारी पठाइनेछ।

यसैबीच, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचनका लागि पर्याप्त कर्मचारी उपलब्ध हुने जनाएको छ।मन्त्रालयका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीबाट आवश्यक जनशक्ति पूर्ति गर्न सकिने भएकाले कर्मचारी अभाव नहुने स्पष्ट पारिएको छ।

प्रतिक्रिया दिनुहोस्