विदुर नगरमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण विषयक अन्तरक्रिया सम्पन्न
विदुर,माघ १२— विदुर नगरपालिकाको आयोजनामा “लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण, अभिमुखीकरण तथा अवस्था विश्लेषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम” नगर प्रमुख राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रममा नगर उपप्रमुख प्रभा बोगटी, विभिन्न वडाध्यक्षहरू, नगर कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विदुर नगरपालिकाभित्र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको वर्तमान अवस्थाको समीक्षा गर्दै नीति निर्माण, योजना तर्जुमा र सेवा प्रवाहलाई थप समावेशी, उत्तरदायी र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ।
अन्तरक्रियाका क्रममा महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा अन्य पछाडि पारिएका वर्ग–समुदायको पहुँच, सहभागिता र प्रतिनिधित्व सुदृढ गर्न आवश्यक सुधारका क्षेत्र पहिचान गरिएको थियो। ती विषयहरूलाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरिएको नगरपालिकाले जनाएको छ।
उक्त कार्यक्रमले विदुर नगरपालिका समावेशी, समानतामूलक र न्यायपूर्ण स्थानीय शासन प्रणाली निर्माणतर्फ प्रतिबद्ध रहेको सन्देश दिएको आयोजकले बताएका छन्।

