मधेशको सम्मान र विकासका लागि समाधानसहित आएको हुँ : गगन थापा
सर्लाही, माघ १३ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशको विकास र सम्मानका सवाल आफूले पटक–पटक संसद्मा उठाउँदै आएको उल्लेख गर्दै अब समाधान दिने उद्देश्यका साथ मधेश आएको बताएका छन्।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले नेपाली राजनीतिमा मधेशले प्रजातन्त्रका लागि पुर्याएको योगदान अतुलनीय रहेको बताए।नेपालको प्रजातान्त्रिक आन्दोलनमा मधेशको भूमिकाको चर्चा गर्दै उनले भने, “यति ठूलो योगदान दिएको, यति धेरै सहिद दिएको मधेशले सिंगो नेपालमा पाउनुपर्ने मान–सम्मान किन पाएन? यही प्रश्नको उत्तर दिन म मधेश आएको हुँ। यसपटक प्रश्न मात्र उठाउने होइन, समाधान खोज्ने र तपाईँहरूको प्रतिनिधि बन्न आएको हुँ।”
थापाले कांग्रेसका दिवंगत नेता प्रदीप गिरीलाई स्मरण गर्दै मधेशले लोकतन्त्र स्थापनाका लागि खेलेको ऐतिहासिक भूमिकाबारे आफू जानकार रहेको बताए।
उनले मधेशमा खस्किँदै गएको शिक्षा स्तरप्रति पनि चिन्ता व्यक्त गरे। “कुनै बेला मधेशका शिक्षकबिना पहाड र हिमालमा गणित–विज्ञानको कक्षा चल्दैनथ्यो,” उनले भने, “सप्तरीका गणित शिक्षकले सोलुखुम्बुका पहाडमा गएर मेरा बाबालाई पढाउनुभयो, त्यसैले उहाँ इन्जिनियर बन्न सक्नुभयो।”
तर अहिले अवस्था उल्टिएको उनको भनाइ थियो। “इतिहास बोकेको मधेशमा आज गणित, विज्ञान र अंग्रेजीमा सबैभन्दा कमजोर विद्यार्थी देखिनु चिन्ताजनक छ। हिजो संसद्मा उठाएको यही प्रश्नको उत्तर खोज्न म यहाँ आएको हुँ—उत्तर पनि खोज्छु, समाधान पनि दिन्छु,” सभापति थापाले बताए।

