मंगलबारबाट फेरि मौसम बदली, बुधबार देशभर प्रभाव



काठमाडौँ, माघ १३ —आज मंगलबारदेखि देशभर मौसम फेरि बदली हुने र त्यसको प्रभाव बुधबारसम्म देशभर फैलिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार आज र भोलि सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ।

त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने जनाइएको छ भने बाँकी भू–भागका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना औँल्याइएको छ।

मौसमको यस अवस्थाले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा प्रभाव पार्न सक्ने भएकाले विभागले नियमित रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्