ज्वेलर्सबाट चाँदी चोरी गर्ने युवक पक्राउ



ताप्लेजुङ,माघ १३ — फुङलिङ बजारस्थित अनमोल ज्वेलर्सबाट चाँदी चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। आइतबार साँझ फुङलिङ नगरपालिका–२ स्थित वीरेन्द्र चोकमा अमृतकुमार विश्वकर्माको नाममा सञ्चालित पसलबाट चाँदी चोरी भएको थियो।

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–२ कै २२ वर्षीय डेनिस गुरुङ रहेका छन्। उनलाई चोरी गरिएको चाँदीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो।

प्रहरीका अनुसार पसलमा जडान गरिएको सीसीटीभी फुटेजको आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचान गरिएको हो। गुरुङको साथबाट चोरी गरिएका २ तोलाको सिक्री र १८ तोलाको चन्द्रहार गरी कूल २० तोला चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्