काठमाडौँ–तराई/मधेश द्रुतमार्गमा १३ विशेष पुल निर्माण सम्पन्न
काठमाडौँ,माघ १३–तराई/मधेश द्रुतमार्ग अन्तर्गत अहिलेसम्म १३ वटा विशेष प्रकृतिका पुल निर्माण सम्पन्न भएका छन्। मकवानपुरको लेनडाँडामा ८२ मिटर अग्लो पुलसहित कुल ८९ पुल निर्माण गर्ने योजनामध्ये ८५ वटामा ठेक्का भई काम भइरहेको छ। पुलहरूको कुल लम्बाइ करिब १२.८८५ किलोमिटर छ भने खोकनामा जग्गा अधिग्रहण समस्याका कारण चार पुलको काम अघि बढ्न सकेको छैन।
द्रुतमार्गको ७०.९७ किलोमिटरमध्ये ३३.६२ प्रतिशत भागमा पुल र सुरुङ निर्माण भइरहेको छ। हाल ५४ पुलको जग हाल्ने काम र ३४ पुलको सब–स्ट्रक्चर निर्माण सकिएको छ। पाँच किलोमिटर सर्भिस लेन कालोपत्र भइसकेको छ भने ११ किलोमिटर सडकमा सब–बेसको काम सम्पन्न भएको छ। निजगढ क्षेत्रमा एनिमल अन्डरपास, टोल प्लाजा र इन्टरचेन्ज निर्माण भइरहेको छ।
यस परियोजनामा सात वटा सुरुङ निर्माण भइरहेका छन्, जसमध्ये दुई वटा (लेनडाँडा र धेद्रे) छिचोलिसकिएका छन्। महादेवटार सुरुङको ६९ प्रतिशत काम सम्पन्न भइसकेको छ भने चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिर सुरुङमा पनि निर्माण जारी छ। सुरुङहरूको कुल लम्बाइ १०.९७९ किलोमिटर रहेको छ।
११ खण्डमा विभाजित आयोजनाको भौतिक प्रगति पुस मसान्तसम्म ४५.१६ प्रतिशत पुगेको छ। खोकना–डुकुछाप खण्डमा जग्गा विवादका कारण काम सुरु हुन नसके पनि अन्य खण्डमा काम तीव्र गतिमा भइरहेको छ। हालसम्म ८२ अर्ब ९७ करोड रुपैयाँ खर्च भइसकेको छ भने परियोजनाको लागत १ खर्ब ७५ अर्बबाट बढेर २ खर्ब ११ अर्ब ९३ करोड पुगेको छ।
द्रुतमार्ग सञ्चालनमा आएपछि दैनिक पाँच हजारभन्दा बढी सवारी गुड्ने अनुमान छ। यसबाट वार्षिक १० अर्ब इन्धन र १५ अर्ब सवारी मर्मत खर्च बचत हुने अपेक्षा गरिएको छ। यो आयोजना पहाड र तराई/मधेश जोड्ने रणनीतिक महत्त्वको राष्ट्रिय गौरवको आयोजना हो।

