निर्वाचनको अन्तिम तयारी, आधिकारिक सूचना प्रयोग गर्न आयोगको आग्रह



काठमाडौं,माघ १३ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारी भइरहेको बताउनुभएको छ। सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको आचारसंहिता अभिमुखीकरण कार्यक्रममा उहाँले प्रत्यक्षतर्फको मतपत्र छपाइलगायतका काम अघि बढिरहेको जानकारी दिनुभयो।

उहाँले स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचनका लागि निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गर्नुभयो। प्रविधिको दुरुपयोग, गलत सूचना र भ्रम फैलाउने गतिविधिले निर्वाचनलाई प्रभावित पार्ने भन्दै आधिकारिक स्रोतका सूचना मात्र प्रयोग गर्न जोड दिनुभयो।

आयोगका सचिव कृष्णबहादुर राउतले माघ ५ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको जानकारी दिँदै सञ्चार माध्यमलाई निष्पक्ष र सत्य सूचना प्रवाह गर्न आग्रह गर्नुभयो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत र सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले पनि आचारसंहिता पालना र नागरिकमुखी सूचना प्रवाहमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्