पश्चिमी वायुको प्रभाव: उच्च भेगमा हिमपात, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना



काठमाडौं,माघ १३ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहनेछ।

कर्णाली र सुदूरपश्चिमका उच्च भेगका केही स्थान तथा गण्डकीका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिमका अन्य केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने जनाइएको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित हिमाली भेगमा साधारण बदली रहनेछ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मध्यम हिमपात र वर्षा तथा अन्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।

यसका साथै कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका पहाडी भागमा मध्यम वर्षा तथा तराईका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्