निर्वाचन सुरक्षामा कडाइ, सम्भावित चुनौतीलाई ध्यानमा राख्दै तयारी तीव्र
काठमाडौँ, माघ १३ — फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा तयारी कडा पारिएको छ। उम्मेदवारको मनोनयनसँगै गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना लागू गरी उम्मेदवार र चुनावी गतिविधिको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।
निर्वाचनका क्रममा राजनीतिक दलबीच हुन सक्ने विवाद, झडप, सामाजिक सञ्जालमार्फत फैलिन सक्ने घृणास्पद अभिव्यक्ति तथा खुला सिमानाबाट उत्पन्न हुन सक्ने अवस्थालाई मुख्य सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको छ। ती जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालन भएका छन्।
नेपाल प्रहरीले केन्द्रदेखि जिल्ला तहसम्म ९३ वटा निर्वाचन सेल गठन गरी निगरानी बढाएको छ भने उम्मेदवारको सुरक्षाका लागि विशेष टोली, सादा पोसाकका प्रहरी र आइटी विज्ञसमेत परिचालन गरिएको जनाइएको छ। शङ्कास्पद गतिविधि देखिए तत्काल कारबाही हुने सुरक्षा निकायको भनाइ छ।
गृह मन्त्रालयले समग्र शान्ति सुरक्षा अवस्था सुदृढ बन्दै गएको उल्लेख गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।

