नेपाल–साउदी अरबबीच श्रम सम्झौता सम्पन्न



काठमाडौँ, माघ १३ — नेपाल र साउदी अरबबीच नेपाली श्रमिकको सुरक्षित र मर्यादित वैदेशिक रोजगारी प्रवर्धन गर्ने श्रम सम्झौता भएको छ। साउदीको रियादमा सम्पन्न समारोहमा नेपाल तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी तर्फबाट मानव संसाधन तथा सामाजिक विकासमन्त्री अहमद बिन सुलेमान अलराजीले सम्झौतामा हस्ताक्षर गर्नुभयो।

यस सम्झौताले साउदीमा कार्यरत नेपाली श्रमिकलाई सेवा सुविधा, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, कामको अवस्था र गुनासो व्यवस्थापनको सुनिश्चितता दिनेछ। सम्झौता अन्तर्राष्ट्रिय श्रम मापदण्ड र दुवै देशका कानुनअनुसार कार्यान्वयन हुने गरी तयार गरिएको छ।साउदी श्रम सम्झौताले नेपाली श्रमिकको न्यूनतम तलब नपाउनु, करारपत्र फेरबदल, कम्पनीले घर जान नदिने, उपचारमा लापरबाही जस्ता समस्या कम गर्ने अपेक्षा गरिएको छ। यसले भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत प्रभावकारी बनाउन सहयोग पुग्ने बताइएको छ।

वैदेशिक रोजगार विभागका अनुसार विगत आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५२ हजार ५५७ जनाले साउदीका लागि श्रम स्वीकृति प्राप्त गरेका थिए। यो सम्झौताले नेपाली श्रमिकको हकहित र रोजगार सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउने आशा गरिएको छ। सम्झौता सन् २०१० देखि प्रयासरत थियो, तर सफल हुन सकेको थिएन। यसपालि नेपाल र साउदीले दुवै पक्षको हित सुनिश्चित गर्दै उन्नत खालको सम्झौतामा सहमति जुटाएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्