भारी हिमपातले हिमाली जिल्लाहरू प्रभावित, सडक र हवाई सेवा अवरुद्ध
मुस्ताङ,माघ १४ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न उच्च भेगमा भारी हिमपात भएको छ। डाँडाकाँडा सेताम्मे बनेका छन् भने अधिकांश स्थानमा वर्षासमेत भएको छ। बाक्लो हिमपातका कारण जनजीवन प्रभावित बन्न थालेको छ।
मुस्ताङ क्षेत्रमा भारी हिमपातपछि कागबेनी–कोरला सडक अवरुद्ध भएको छ। केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको बताइएको छ। घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीका अनुसार हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने अपेक्षा बढेको छ।
उता हुम्लाको सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शङ्कर खड्काले जानकारी दिएका छन्। हिमपातका कारण हवाई सेवा अवरुद्ध भएको छ भने लिमी, न्यालु, यारी र हिल्सा सडकसमेत बन्द भएका छन्। मुगु, डोल्पा, जुम्ला र कालिकोटमा पनि निरन्तर हिमपात भइरहेको छ।
बाजुराका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका लेक क्षेत्रमा बाक्लो हिमपात भएको छ। हिमाली गाउँपालिकाका विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट र बुढीनन्दाको कुरु गाउँमा जनजीवन प्रभावित भएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीका अनुसार वर्षासँगै परेको हिमपातले गहुँ बाली सप्रने सम्भावना बढाएको छ। तर यातायात र दैनिक क्रियाकलापमा भने कठिनाइ बढेको स्थानीयले बताएका छन्।

