इन्डोनेसियामा पहिरो : मृत्यु संख्या ३४ पुग्यो, दर्जनौँ अझै बेपत्ता
जकार्ता — इन्डोनेसियामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने अझै दर्जनौँ व्यक्ति बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्। भारी वर्षापछि आएको पहिरोले ठूलो जनधन क्षति पुर्याएको हो।
राष्ट्रिय प्रकोप शमन एजेन्सीका प्रवक्ता अब्दुल मुहारीका अनुसार मङ्गलबार साँझ ७ः३० बजेसम्म ३४ जना मृतकको पहिचान भइसकेको छ। पहिचान भएका शवहरू छिट्टै परिवारलाई हस्तान्तरण गरिने जनाइएको छ। यसअघि ३२ जना बेपत्ता भनिए पनि वास्तविक संख्या अझ बढी हुन सक्ने स्थानीय अधिकारीहरूको अनुमान छ।
उद्धार टोलीहरूले जाभा टापुको पश्चिम बान्दुङ क्षेत्रको जोखिमयुक्त स्थानमा भारी उपकरण प्रयोग गरी खोज तथा उद्धार कार्य जारी राखेका छन्। तर निरन्तर खराब मौसम र पुनः पहिरो जाने जोखिमका कारण सावधानीपूर्वक काम भइरहेको छ।
प्रकोपका कारण ५० भन्दा बढी घरहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् भने ६५० भन्दा बढी मानिस विस्थापित भएका छन्। पश्चिम जाभाका गभर्नर डेडी मुल्यादीले प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
गत वर्षको अन्त्यतिर सुमात्रा टापुमा आएको बाढी र पहिरोमा पनि ठूलो क्षति भएको थियो, जहाँ करिब १,२०० जनाको ज्यान गएको र दुई लाख ४० हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी तथ्याङ्कमा उल्लेख छ। वर्षायाममा इन्डोनेसियामा यस्ता प्रकोपहरू अक्टोबरदेखि मार्चसम्म बारम्बार हुने गरेका छन्।

