नुवाकोट–१ मा हितबहादुर तामाङको दाबी : ‘९ पटक अर्थमन्त्री हुँदा नभएको विकास मेरो कार्यकालमा भयो’
नुवाकोट,माघ १४ — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोट क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवार हितबहादुर तामाङले आफ्नो कार्यकालमा जिल्लामा उल्लेखनीय पूर्वाधार विकास भएको दाबी गर्नुभएको छ। मंगलबार टिकटक लाइभमार्फत प्रवासी नेपालीसँग संवाद गर्दै उहाँले विगतमा जिल्लाबाट पटक–पटक अर्थमन्त्री बनेका नेताहरूको पालामा अपेक्षित विकास नभएको तर आफू निर्वाचित भएपछि सडकसहित विभिन्न क्षेत्रमा ठोस काम भएको बताउनुभयो।
पूर्वसंघीय सांसदसमेत रहनुभएका तामाङले टोखा–छहरे सडक, गुर्जे–समुद्रदेवी–कुख्रे सडक र मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जस्ता सडक आयोजना आफ्नो पहलमा सुधार र निर्माण भएको उल्लेख गर्नुभयो। पहिले मालवाहक सवारीलाई त्रिशूली पुग्न घण्टौँ लाग्ने अवस्था रहेकामा अहिले समय उल्लेख्य घटेको उहाँको भनाइ थियो। मध्यपहाडी लोकमार्गको स्तरोन्नतिमा पनि आफूहरू निरन्तर सक्रिय रहेको दाबी उहाँले गर्नुभयो।
बालाजु–तीनपिप्ले सडक निर्माणमा पनि आफ्नो पक्षको प्राविधिक तयारी र पहल निर्णायक रहेको उहाँको भनाइ छ। त्यस्तै गुर्जे–समुद्रदेवी–कुख्रे–दुप्चेश्वर सडक, कुण्डला–घलेभन्ज्याङ सडक र गंगटे–खरानीटार–गोल्फुभन्ज्याङ सडक अगाडि बढाइएको जानकारी दिनुभयो। नुवाकोट ल्यान्डफिल्ड साइट आसपासका बासिन्दालाई मुआब्जा दिलाउने र समस्या समाधानतर्फ काम गरिएको उहाँले बताउनुभयो।
तामाङले आफ्नो कार्यकालमा सडकसँगै मठमन्दिर, सहिद पार्क, विद्यालय, अस्पताल भवन, स्वास्थ्यचौकी, सामुदायिक भवन तथा पर्यटकीय संरचना निर्माण भएको उल्लेख गर्नुभयो। खेल पूर्वाधार विकास र आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि काम भएको उहाँको दाबी छ। बाग्मती प्रदेशमा माओवादी केन्द्रबाट राधिका तामाङ दुई कार्यकाल सांसद रहेकाले संघ–प्रदेश समन्वयमा काम अघि बढेको उहाँले बताउनुभयो।
राजनीतिक सन्दर्भमा उहाँले आफ्नो पार्टीको जनाधार बलियो रहेको र विगतका निर्वाचन परिणामले पनि त्यसलाई पुष्टि गरेको जिकिर गर्नुभयो। एमाले र कांग्रेसका उम्मेदवारप्रति असन्तुष्टि रहेको तथा नयाँ शक्तिहरू स्पष्ट विचार र कार्यक्रमविहीन रहेको उहाँको आरोप थियो। स्थिरता, सुशासन र विकासका लागि नेपाली कम्युनिष्ट पार्टीलाई मत दिन आग्रह गर्दै उहाँले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभयो।

