इनारमा भेटिएको महिलाको शवको पहिचान, प्रेमी पक्राउ
बाँके,माघ १४— डुडुवा गाउँपालिका–३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ भने घटनामा संलग्न आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार उक्त घटना हत्या भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सडेगलेको अवस्थामा फेला परेको शव सोही स्थानकी २१ वर्षीया बसन्ती गोडियाको रहेको पुष्टि भएको हो। घटनामा संलग्न आरोपमा उनका प्रेमी भनिएका २५ वर्षीय राकेश बर्मालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार डुडुवा–३ स्थित रामफेरन कुर्मीको घर पछाडिको झाडीभित्र रहेको इनारमा पहिचान नखुलेको शव भेटिएपछि अनुसन्धान सुरु गरिएको थियो। सोधपुछ र स्थानीय सूचनाका आधारमा शव बसन्ती गोडियाको रहेको खुलेको हो।
प्रारम्भिक अनुसन्धान तथा पोस्टमार्टम रिपोर्टका आधारमा मृतकको टाउको र घाँटीमा चोटका संकेत देखिएकाले हत्या भएको पुष्टि भएको प्रहरीको भनाइ छ। शवको अवस्था हेर्दा घटना करिब एक महिनाअघि भएको हुनसक्ने अनुमान गरिएको छ।
प्रहरीका अनुसार बसन्ती पुस १ गते रातिदेखि सम्पर्कविहीन थिइन् र घर पनि नफर्किएको खुलेको छ। स्थानीय बुझाइ र अनुसन्धानका क्रममा मृतक र पक्राउ परेका युवकबीच प्रेम सम्बन्ध रहेको तथा सम्बन्धमा आएको खटपटपछि घटना भएको आशंका गरिएको छ। प्रहरीले आरोपितले घटनाबारे स्वीकारोक्ति बयान दिएको जनाएको छ, यद्यपि यसबारे थप अनुसन्धान जारी छ।
आरोपित बर्मालाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला अदालत बाँकेबाट म्याद थप गराएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

