पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर वर्षा र हिमपात
काठमाडौँ, माघ १४ — पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ।
आज अपराह्न काठमाडौँमा २.२ मिलिमिटर वर्षा मापन हुँदा ललितपुर र भक्तपुरमा समान ४.८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ, जुन झण्डै भारी वर्षाको नजिक मानिन्छ। रुकुम (शेरागाउँ) मा ३८, जाजरकोटमा ३३, बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरामा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ, जसलाई मध्यम वर्षा मानिएको छ।
पश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। बागमती प्रदेशदेखि पश्चिमका अधिकांश जिल्लाका करिब १०० वर्षा मापन केन्द्रमा १०–३० मिलिमिटर वर्षा रेकर्ड भएको विभागको अभिलेख छ।
मौसमविद् वरुण पौडेलका अनुसार प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गए पनि तराई र कोशी प्रदेशमा कम वर्षा हुने देखिएको छ। पछिल्लो एक घण्टामा भने गण्डकी र बागमती प्रदेशमा वर्षा बढी भएको छ। आज रातिदेखि प्रणाली कमजोर बन्दै मौसम विस्तारै खुल्ने तर चिसो भने बढ्ने र केही दिन बदली रहने जनाइएको छ।
आज राति पहाडी र हिमाली भू–भागमा आंशिक बदली र बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना छ।
भोलि बिहीबार तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्ने तथा उच्च पहाडी क्षेत्रमा आंशिक बदलीसहित हल्का हिमपात/वर्षाको सम्भावना रहने विभागले जनाएको छ।

