भदौ २३ घटनाबारे केपी ओलीको स्पष्टीकरण: “गोली चलाउन आदेश मैले दिएको छैन”



काठमाडौँ,माघ १४— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते भएको घटनाबारे आफूले प्रधानमन्त्रीका रूपमा नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्ने आरोप पूर्ण रूपमा निराधार रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य दिँदै उनले संविधानले प्रधानमन्त्रीलाई यस्तो आदेश दिने अधिकार नदिएको र आफूले कहिल्यै त्यस्तो आदेश नदिएको स्पष्ट पारेका हुन्।

ओलीले घटनापछि तत्काल पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको उल्लेख गर्दै ज्यान गुमाएका १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले माइतीघरको प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भएको र त्यहाँ बल प्रयोग नभएको दाबी गर्दै पछि “घुसपैठ गर्ने तत्व” ले युवालाई निषेधित क्षेत्रतर्फ मोडेको बताएका छन्।

उनका अनुसार संसद् भवनअगाडि आगजनीको प्रयास र विस्फोटक पदार्थ प्रयोग भएपछि अवस्था “राज्यविरुद्धको हमला” मा परिणत भएको र सुरक्षाकर्मीमाथि आक्रमण भएपछि कानुनअनुसार गोली चलेको हो। उनले सुरक्षाकर्मीले सरकारको आदेश नभई कानुनी दायित्वअनुसार काम गरेको जिकिर गरेका छन्।

ओलीले माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट युवालाई संसद् भवनतर्फ कसले र किन लग्यो भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बताएका छन्। साथै, सामाजिक सञ्जालमा फैलाइएको भ्रामक प्रचारमा नलाग्न नागरिकलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्