रसुवाका एमाले उम्मेदवार प्रेम तामाङ भन्छन्: उठेका प्रश्नको जवाफ घरदैलोमै दिन्छु



रसुवा, माघ १५ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका उम्मेदवार प्रेम तामाङले आफ्ना विषयमा उठाइएका सबै प्रश्नहरूको जवाफ जनताकै घरदैलोमा पुगेर दिने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै तामाङले आफ्नो बारेमा पर्दा पछाडि र सार्वजनिक रूपमा उठाइएका जिज्ञासा र आरोपहरूको स्पष्ट उत्तर आफूसँग रहेको उल्लेख गरेका छन्। “ती सबै प्रश्नहरूको उत्तर म तपाईंहरूकै घरदैलोमा आएर दिनेछु,” उनले लेखेका छन्।

आफू रसुवामै जन्मे–हुर्केको र जनतासँगको सम्बन्ध कहिल्यै नटुटेको दाबी गर्दै उनले जनताको साथमा सधैँ रहेको बताएका छन्। चुनाव जित्दा नमतिने र हार्दा नआत्तिने स्वभाव रहेको उल्लेख गर्दै तामाङले आफू सधैँ नागरिककै साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनका अनुसार यो निर्वाचन केवल सांसद छान्ने प्रक्रिया मात्र नभई विकृत राजनीतिक संस्कार अन्त्य गर्दै सभ्य, सुसंस्कृत र जनमुखी राजनीति स्थापना गर्ने अभियान पनि हो। सबै वर्गका नागरिकलाई राजनीतिक सहभागिताको वातावरण बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले यस अभियानमा साथ दिन रसुवाबासीलाई आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्