निर्माणाधीन संसद् भवनमै प्रतिनिधिसभाको पहिलो बैठक



काठमाडौँ, माघ १५ — आगामी प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनमै बस्ने सुनिश्चित गरिएको छ। फागुन २१ गतेको निर्वाचनपछि चैत पहिलो साता बैठक बस्ने तयारीअनुसार भवनको काम तीव्र गतिमा अघि बढाइएको सहरी विकास तथा भवन विभागले जनाएको छ।

यसअघि संसद् बैठक बस्दै आएको नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ।त्यसैले विकल्पका रूपमा सिंहदरबारभित्रको नयाँ भवनलाई प्राथमिकतामा राखेर दिनरात काम भइरहेको आयोजना पक्षले जनाएको छ। हाल करिब ३५० जना निर्माणस्थलमा र ५० जना फर्निचर तथा इन्टेरियर तयारीमा खटिएका छन्।

यद्यपि ठेकेदार कम्पनीले छैटौँ पटक म्याद थप माग्दै थप नौ महिना समय चाहिने निवेदन दिएको छ। मुख्य संरचनाको काम सकिए पनि भित्री सजावट, एचभिएसी, विद्युतीय तथा सेनेटेरी जडानलगायत काम बाँकी छन्।

१७३ रोपनी क्षेत्रफलमा ‘हाइटेक’ डिजाइनमा निर्माण भइरहेको संसद् भवन भूकम्प तथा आगलागी जस्ता जोखिमलाई ध्यानमा राखी बनाइएको हो। करिब रु पाँच अर्ब तीन करोड लागतको यो आयोजना नेपाली र चिनियाँ कम्पनीको संयुक्त ठेक्कामा निर्माण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्