हिउँदे वर्षा र हिमपातले देशभर प्रभाव, किसान खुसी



काठमाडौँ, माघ १५ — हिउँदयाम सकिन एक महिना बाँकी रहँदा देशभर वर्षा र हिमपात भएको छ। मङ्गलबार रातिदेखि सक्रिय प्रणालीका कारण उच्च हिमाली तथा पहाडी क्षेत्रमा मध्यमदेखि भारी हिमपात र वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुर्खेतमा सबैभन्दा बढी ४३ मिमि वर्षा मापन भएको छ भने काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको छ।

हिमपातका कारण कर्णाली र सुदूरपश्चिमका हवाई उडान र सडक सेवा अवरुद्ध भएका छन्, हिमाली भेगका बासिन्दालाई यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। मुस्ताङ, मनाङ, डोल्पालगायत क्षेत्रमा भारी हिमपातले जनजीवन प्रभावित बनेको छ।

यद्यपि लामो खडेरीपछि भएको वर्षा र हिमपातले गहुँ, जौ, आलु, तरकारी तथा तोरी बालीलाई फाइदा पुग्ने भन्दै किसान खुसी भएका छन्। तर यही मौसमी अवस्थाले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार र सुरक्षा तयारीका कार्यक्रम प्रभावित बनेका छन्। मुस्ताङमा म्यादी प्रहरी तालिमसमेत स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्