जनसङ्ख्यामा महिला बढी, तर मतदाता र उम्मेदवारमा पुरुष हाबी



काठमाडौँ, माघ १५ — नेपालमा कुल जनसङ्ख्यामा महिला ५१.२ प्रतिशत भए पनि मतदाता नामावली र उम्मेदवारीमा भने पुरुषको वर्चस्व देखिएको छ। मतदाता तथ्याङ्कअनुसार महिला मतदाता ९२ लाख ४० हजार १३४ जना रहँदा पुरुष मतदाता ९६ लाख ६३ हजार ३५८ जना छन्, जसले महिलाभन्दा चार लाखभन्दा बढी पुरुष मतदाता रहेको देखाउँछ।

आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीबीच निर्वाचन आयोगले संविधानले तोकेको ३३ प्रतिशत महिला प्रतिनिधित्व सहज रूपमा कहिल्यै नपुगेको जनाएको छ। आयोगले समानुपातिकतर्फ ५० प्रतिशत महिला अनिवार्य गरे पनि प्रत्यक्षतर्फ महिला उम्मेदवारी निकै कम देखिएको छ। १६५ निर्वाचन क्षेत्रमा परेको कुल ३,४८६ उम्मेदवारीमध्ये मात्र ११.३५ प्रतिशत महिलाको रहेको छ।

आयोगका अनुसार दलहरूले प्रत्यक्षतर्फ महिलालाई कम अवसर दिने प्रवृत्ति कायमै छ। सामाजिक, आर्थिक र पारिवारिक कारणले महिलालाई चुनाव खर्च जुटाउन कठिन हुने तथा राजनीतिक दलभित्र पुरुष मानसिकता हाबी रहँदा महिला उम्मेदवारी कमजोर बनेको विश्लेषण गरिएको छ।

कानुनविद्हरूले समानुपातिक प्रणालीबाट मात्र ३३ प्रतिशत पुर्‍याउनु पर्याप्त नभई प्रत्यक्षतर्फै महिलालाई जित्ने वातावरण बनाउनुपर्ने सुझाव दिएका छन्। आयोगले मतदाता नामावलीमा महिलाको सङ्ख्या कम देखिनुको कारणबारे थप अध्ययन आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्