आचारसंहिता उल्लङ्घनमा आयोग कडाइ, २१ जनासँग स्पष्टीकरण



काठमाडौँ, माघ १५ — निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका गतिविधि नियन्त्रण गर्न उम्मेदवार तथा दलका नेतामाथि कारबाही प्रक्रिया सुरु गरेको छ। माघ ७–१४ बीच २१ जना उम्मेदवार, दल र संस्थासँग स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

स्पष्टीकरण सोधिएकामध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह, एमाले सचिव महेश बस्नेत, शोभा पाठकसहितका व्यक्तिहरू छन्। हालसम्म दोलखाका उम्मेदवार जगदीश खरेलले मात्र जवाफ पेस गरेका छन्।

आयोगका अनुसार सामाजिक सञ्जालमार्फत दुष्प्रचार, अपमानजनक अभिव्यक्ति, आचारसंहिताविपरीत जुलुस र प्रचार सामग्री प्रयोगजस्ता उजुरीका आधारमा सोधपुछ गरिएको हो। प्राप्त जवाफ चित्तबुझ्दो नभए थप कारबाही गरिने आयोगले चेतावनी दिएको छ।

यसैबीच, आयोगले जिल्लास्तरमा अनुगमन प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्