नुवाकोट विकासका लागि ‘खोलाको सिटी’ अवधारणा सार्वजनिक



नुवाकोट,माघ १५— प्रगतिशील पार्टी लोकतान्त्रिक नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार राजन गौतम “नकुल” ले नुवाकोट विकासका लागि छुट्टै अवधारणा सार्वजनिक गरेका छन्।

तत्कालीन सशस्त्र द्वन्द्वका बेला कमान्डरका रूपमा सक्रिय रहेका गौतम हालै प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भई क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका हुन्। उम्मेदवारीपछि उनले जिल्लाको दीर्घकालीन विकाससँग जोडिएका पूर्वाधार र शहरीकरणका योजनाबारे आफ्नो धारणा अघि सारेका छन्।

उनले सुन्दर फाँट क्षेत्रलाई केन्द्रमा राख्दै लिखु खोला तथा तादी–दुबै खोलाको किनारैकिनार प्राकृतिक बहाव र पर्यावरणीय सन्तुलनमा असर नपर्ने गरी दायाँ–बायाँ व्यवस्थित सडक करिडोर निर्माण गर्न सकिने प्रस्ताव गरेका छन्। उक्त करिडोरलाई आधार बनाएर थान्सिङ फाँट, सिमारा फाँट, चौधडा र ढिकुरे क्षेत्रसम्म जोडिने योजनाबद्ध विकास गर्न सकिने उनको भनाइ छ।

गौतमले यसलाई ‘खोलाको सिटी’ अवधारणाका रूपमा प्रस्तुत गर्दै आधुनिक, योजनाबद्ध र दिगो सहर विकास सम्भव रहेको दाबी गरेका छन्। पूर्वाधार विकाससँगै वातावरण संरक्षणलाई समान प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन्।

साथै, भविष्यमा चीनको केरुङ नाका हुँदै हुने आवतजावतलाई समेत मध्यनजर गर्दै यो करिडोर तथा ‘खोलाको सिटी’ अवधारणा झन् प्रभावकारी र रणनीतिक रूपमा महत्वपूर्ण बन्ने उनको भनाइ छ। उक्त अवधारणालाई सफल बनाउन स्पष्ट नीति, दीर्घकालीन योजना र दृढ प्रतिबद्धता आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्