आज तीन प्रदेशका उच्च भूभागमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौँ,माघ १५ — पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न प्रदेशमा मौसममा बदली देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागमा पूर्ण बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली छ। बागमती प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ।
दिउँसो तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
तीनै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका उच्च भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रको मौसम मुख्यतया सफा रहने जनाइएको छ।
मौसमविद्हरूले विशेष गरी उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेका छन्।

