रवि लामिछाने अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सुधारोन्मुख
काठमाडौँ,माघ १५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको तथा अस्पतालमा भेटघाट गर्न आउनेहरूको भीड बढेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेको जनाइएको छ।अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईं ले लामिछाने डिस्चार्ज भइसकेको जानकारी दिएका छन्। उनलाई ‘सेलुलाइटिस’ संक्रमण भएको थियो।
गत ५ माघ मा पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका बेला स्टेजबाट ओर्लिँदा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो। सुरुमा उनले चोटलाई सामान्य रूपमा लिँदै केही औषधि सेवन गरेका थिए।चोट पूर्ण रूपमा निको नहुँदै उनी आफ्नो निर्वाचन क्षेत्र चितवन तर्फ चुनावी कार्यक्रममा व्यस्त बने। कामको चापका कारण नियमित औषधि सेवन गर्न नपाउँदा दुखाइ बढ्दै गयो। पछि घाउ सुन्निनुका साथै खुट्टा रातो भएको बताइएको छ।
चोट लागेको करिब ९ दिनपछि लामिछाने त्रिवि शिक्षण अस्पताल पुगेका थिए। परीक्षणका क्रममा उनलाई सेलुलाइटिस भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ। उपचारका लागि उनलाई नसामार्फत तीन प्रकारका एन्टिबायोटिक औषधि दिइएको थियो। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।

