निर्वाचन आचारसंहिता पालना गर्न मिडियालाई सचिव बस्नेतको आग्रह



काठमाडौँ,माघ १५— सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी बस्नेत ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन का सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्दै समाचार सम्प्रेषण गर्न मिडियालाई आग्रह गर्नुभएको छ।

प्रेस काउन्सिल नेपालद्वारा आज आयोजित “पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र निर्वाचनमा मिडियाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव बस्नेतले आम मतदातालाई सही र महत्त्वपूर्ण सूचना दिन मिडियाको भूमिका उल्लेखनीय हुने बताउनुभयो। उहाँले निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्न सम्पूर्ण मिडियाकर्मी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा निर्वाचन आयोगका सहायक प्रवक्ता कूलबहादुर सिजी ले स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न मिडियाले सकारात्मक र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो।

त्यस्तै, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य ले निर्वाचन आचारसंहिता कार्यान्वयनको विषयमा काउन्सिलले कडाइका साथ अनुगमन गर्ने प्रतिबद्धता जनाउनुभयो। अन्तरक्रिया कार्यक्रममा विभिन्न अनलाइन सञ्चार माध्यमका सम्पादकहरूको सहभागिता रहेको थियो।

यसैबीच, सचिव बस्नेतले आजै सूचना तथा प्रसारण विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयको निरीक्षण गर्नुभएको छ।निरीक्षणका क्रममा उहाँले उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गर्दै प्रविधिमैत्री कार्यसम्पादनमा ध्यान दिन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिनुभयो।

प्रतिक्रिया दिनुहोस्