सहिद दिवसका अवसरमा लैनचौरस्थित सहिद स्मारकमा प्रधानमन्त्री कार्कीको श्रद्धाञ्जली
काठमाडौँ, माघ १६ — सहिद दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित सहिद स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
शुक्रबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले देश र जनताको हितका लागि जीवन बलिदान गर्ने सहिदहरूप्रति सम्मान व्यक्त गर्दै उनीहरूको त्याग र बलिदान सधैँ प्रेरणाको स्रोत रहने बताउनुभयो। उहाँले सहिदहरूले देखाएको मार्गमा अघि बढ्दै लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्न सबैलाई आह्वान गर्नुभयो।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने चार सहिद—धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीसहित अन्य ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा हरेक वर्ष सहिद दिवस मनाइने गरिन्छ। प्रत्येक वर्ष माघ १६ गते मनाइने यो दिवस विभिन्न कालखण्डमा स्वतन्त्रता, लोकतन्त्र तथा जनअधिकारका लागि जीवन आहुति दिने सहिदहरूको सम्मानमा समर्पित छ।
यही माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाउने घोषणा अनुसार देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरिएको छ। विसं २०१२ देखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा माघ १६ गते सहिद दिवस मनाउने परम्परा सुरु भएको हो।
इतिहासअनुसार स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गङ्गालाल श्रेष्ठ र दशरथचन्द्र ठाकुरलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

