सहिद दिवसमा रास्वपाको सन्देश: विधिको शासन र जनउत्तरदायित्वबाट मात्र सहिदका सपना पूरा हुन्छन्



काठमाडौँ, माघ १६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधिको शासन, जनउत्तरदायी राज्य व्यवस्था र कर्मशील नागरिकको सक्रियताबाट मात्र सहिदका सपना साकार हुने उल्लेख गरेको छ।

सहिद दिवसको अवसरमा आज जारी सन्देशमार्फत पार्टीले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुशासन र समृद्धिको यात्रामा एकताबद्ध हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको हो। सन्देशमा सहिदहरूको बलिदानलाई केवल राजनीतिक परिवर्तनसँग मात्र नभई सुशासन, न्याय र समृद्धिसँग गाँसिएको ऐतिहासिक योगदानका रूपमा व्याख्या गरिएको छ।

पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सन्देशमार्फत आगामी फागुन २१ गते हुने निर्वाचनलाई नयाँ आशा, नयाँ सोच र नयाँ नेतृत्व उदयको प्रस्थान बिन्दुका रूपमा व्याख्या गर्नुभएको छ।

“निरंकुश राणाशासनको अन्त्यसहित नेपालको राजनीतिक आन्दोलन, जनअधिकार प्राप्ति र सामाजिक न्यायका संघर्षहरूमा अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति गहिरो स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं,” सन्देशमा उल्लेख छ। साथै, सहिदको बलिदानको वास्तविक सम्मान राष्ट्रिय स्वाभिमान, एकता र जनअपेक्षाको यथोचित सम्बोधनमार्फत हुने पनि पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्