कागबेनी–मुक्तिनाथ सडकमा जमेको हिउँ पन्छाउँदै, आवागमन सहज बनाउने प्रयास
मुस्ताङ,माघ १६ — मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ अन्तर्गत कागबेनीदेखि मुक्तिनाथ जोड्ने सडकखण्डमा जमेको हिउँ डोजर प्रयोग गरेर पन्छाउने काम सुरु गरिएको छ।
गत मङ्गलबार राति परेको हिमपात नपग्लिँदा उक्त सडकखण्ड अवरुद्ध बनेको थियो। यसका कारण मुस्ताङ भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई आवागमनमा समस्या परेको थियो।
वडाको पहलमा बुधबार बिहानैदेखि सडकमा जमेको हिउँ हटाउने कार्य तीव्र रूपमा भइरहेको जनाइएको छ। हिउँ पन्छाएसँगै सडक पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

