तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ देखि
काठमाडौँ,माघ १६ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा काठमाडौँ विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गतेदेखि सुरु हुने भएको छ।
प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक एवं राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र काठमाडौँ विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण निर्देशनालयका कामु निर्देशक डा. गोकुल केसीबीच शुक्रबार एक कार्यक्रमका बीच सम्झौता पत्र आदान–प्रदान गरिएको हो।
समितिका सचिव तथा खेलकुद प्रतियोगिता एवं योजना विभागका प्रमुख मिनकुमार शर्माका अनुसार प्रतियोगितामा पाँच खेल समावेश छन्। टेबलटेनिस र ब्याडमिन्टनमा चार–चार, बास्केटबलमा दुई, एथलेटिक्समा छ र भलिबलमा एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। भलिबलमा छात्रतर्फ मात्र प्रतिस्पर्धा गराइने जनाइएको छ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २७९ खेलाडीको सहभागिता रहनेछ। सबै खेलहरू धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको परिसरमा आयोजना गरिनेछन्।

