नेपाल–चीन यु–२० महिला मैत्रीपूर्ण फुटबलको तयारी पूरा
काठमाडौँ,माघ १६— नेपाल र चीनको युनान युथ महिला टोलीबीच हुने यु–२० अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको सम्पूर्ण तयारी पूरा भएको छ।
शनिबार दिउँसो ३:०० बजे दशरथ रङ्गशालामा सुरु हुने खेलका लागि दुवै टोली तयार रहेको जानकारी खेलअघि शुक्रबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दिइएको हो।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा), चीनको युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ सङ्घको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो।
नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको यस खेलले नेपाली यु–२० महिला टोलीको तयारीलाई थप मजबुत बनाउने र खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

