आइसिसी एसिया क्षेत्रीय सम्मेलन २०२६ नेपालमा हुने
काठमाडौँ ,माघ १६— अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसिया क्षेत्र २०२६ को सम्मेलन नेपालमा आयोजना हुने भएको छ।नेपाल क्रिकेट सङ्घ (क्यान)ले उक्त जानकारी सार्वजनिक गरेको हो।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आगामी वैशाख ३ र ४ गते काठमाडौँमा आइसिसी एसिया क्षेत्रीय सम्मेलन आयोजना हुनेछ।सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता तय गर्ने, विभिन्न विकास कार्यक्रमको समीक्षा गर्ने, शासन व्यवस्थासम्बन्धी विषयमा छलफल गर्ने तथा भावी कार्यदिशाबारे विचार–विमर्श हुने जनाइएको छ।
सम्मेलनमा आइसिसी एसियाका सदस्य राष्ट्रका प्रमुख पदाधिकारी, क्रिकेट प्रशासक तथा प्रतिनिधिहरूको सहभागिता रहने क्यानले जनाएको छ। यस सम्मेलनले नेपालको क्रिकेट प्रशासनिक क्षमता अभिवृद्धि गर्नुका साथै क्षेत्रीय स्तरमा सहकार्य र अनुभव आदान–प्रदानमा टेवा पुग्ने अपेक्षा गरिएको छ।


