नुवाकोटमा जिल्ला स्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता सम्पन्न
नुवाकोट, माघ १६ — निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा जिल्ला स्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता सूर्यगढी–५ स्थित नुवाकोट ग्लोरी सेकेण्डरी बोर्डिङ स्कुलमा सम्पन्न भएको छ।
प्रतियोगिता प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षता तथा सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले (तामाङ) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सन नुवाकोटका वरिष्ठ सल्लाहकार विजय श्रेष्ठसहित पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
शुभकामना मन्तव्यका क्रममा गाउँपालिका अध्यक्ष घलेले पालिकाको दृष्टिमा सामुदायिक र संस्थागत विद्यालयबीच कुनै विभेद नरहने स्पष्ट पार्नुभयो। जहाँ अध्ययन गरे पनि सबै विद्यार्थी आफ्नै भएको धारणा व्यक्त गर्दै उहाँले प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाको तर्फबाट एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमका अध्यक्ष पुरुषोत्तम अधिकारीले संस्थागत विद्यालयप्रति पालिकाबाट देखाइएको सहयोग र अभिभावकत्वप्रति आभार व्यक्त गर्नुभयो।
प्रतियोगितामा नुवाकोट ग्लोरी प्रथम, सेइ बोर्डिङ द्वितीय तथा त्रिशूली सामुदायिक विद्यालय तृतीय स्थान हासिल गर्न सफल भए। उत्कृष्ट खेलाडीको उपाधि सेइ बोर्डिङका रामशरण राईले प्राप्त गरे। उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर र उत्कृष्ट सेटरतर्फ क्रमशः नुवाकोट ग्लोरीका सन्दिप कँडेल, अजय रिजाल र अर्पण ढकाल सम्मानित भए।
यस प्रतियोगितामा सहभागी विद्यार्थीहरूमध्येबाट उत्कृष्ट खेलाडी छनोट गरी फागुन ६ गतेदेखि ललितपुरमा सञ्चालन हुने बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा नुवाकोट जिल्लाको प्रतिनिधित्व गराइने जनाइएको छ। छनोट भएका खेलाडीहरूमा नुवाकोट ग्लोरीका सन्दिप कँडेल, सुमित तामाङ, विकेश बुढा क्षेत्री, अर्पण ढकाल, अजय रिजाल र रुपेश अधिकारी तथा सेइ बोर्डिङका रुपक कार्की, रामशरण राई, रेशम बस्नेत, निकेश विष्ट, दिव्यान उप्रेती र राजेश कुँवर रहेका छन्। वैकल्पिक खेलाडीका रूपमा स्पार्कलका विजय तामाङ र समीर तामाङ छनोट भएका छन्।
प्रतियोगिताले विद्यालयस्तरमा खेल प्रतिभा पहिचान र विकास गर्नका साथै विद्यार्थीहरूमा खेलकुदप्रति रुचि अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले गरेका छन्।

