आचारसंहितामा आयोगको कडाइ : २१ जनासँग स्पष्टीकरण, ३०२ हानिकारक सूचना कारबाही प्रक्रियामा



काठमाडौँ,माघ १७ — प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन नियन्त्रणमा तीव्रता दिएको छ। फागुन २१ गतेका लागि तय निर्वाचनलाई लक्षित गर्दै आयोगले निर्वाचन आचारसंहिता, २०८२ कडाइका साथ कार्यान्वयनमा ल्याएको जनाएको छ।

आयोगका अनुसार आचारसंहिताको पूर्ण पालना गराउन सरोकारवाला सबै पक्षलाई निरन्तर ध्यानाकर्षण गराइँदै आएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र सूचनाका आधारमा राजनीतिक दल, उम्मेदवार र संस्थासहित हालसम्म २१ जनासँग स्पष्टीकरण सोधिएको छ। तीमध्ये पाँच जनाले मात्र जवाफ पेस गरेका छन् भने बाँकीलाई जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ।

मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्तिमाथि निगरानी बढाइएको आयोगले स्पष्ट पारेको छ। गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको पनि आयोगको भनाइ छ।
निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको सूचना सदाचार प्रवर्द्धन इकाइ पूर्ण रूपमा सक्रिय रहेको छ। सो इकाइले पहिचान गरेका ३०२ हानिकारक सूचनालाई निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्