सुन्तला उत्पादन बढ्यो, यस वर्ष २६ करोड ९० लाखको कारोबार



बागलुङ,माघ १७ — यस वर्ष बागलुङमा २६ करोड ९० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादनमा उल्लेख्य वृद्धि देखिएको हो। गत वर्षको तुलनामा यस वर्ष ४४ लाख रुपैयाँ बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। औंसा किराको समस्या नदेखिँदा उत्पादनमा सुधार आएको बताइएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख कुमार पुन मगरका अनुसार गत वर्ष २६ करोड ४६ लाख रुपैयाँको सुन्तला उत्पादन भएको थियो। पछिल्लो समय बाँझो जमिनमा समेत किसानले सुन्तला खेती गर्न थालेपछि बर्सेनि उत्पादन बढ्दै गएको उहाँले जानकारी दिनुभयो। बसाइँसराइले रित्तिँदै गएका गाउँमा पनि सुन्तलाले खेतबारी ढाक्न थालेका छन्।

पहिले कोदो, मकै, गहुँ र फापर लगाइने बारीमा अहिले सुन्तलाका बोट रोपिन थालेका छन्। कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने भएकाले किसानको आकर्षण बढेको प्रमुख पुन मगर बताउनुहुन्छ। यस वर्ष चार हजार १६९ मेट्रिकटन सुन्तला उत्पादन भएको र किसानले न्यूनतम प्रतिकिलो ६५ रुपैयाँमा बिक्री गरेको जानकारी दिइएको छ।

विसं २०७६ मा ५८५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएकोमा अहिले बढेर ६६४ हेक्टर पुगेको छ। हाल ३८१ हेक्टर क्षेत्रफलबाट व्यावसायिक उत्पादन भइरहेको ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेक क्षेत्रमा बढी सुन्तला उत्पादन हुने गरेको छ।

काठेखोला गाउँपालिका–६ का किसान पशुपति कँडेलले अघिल्लो वर्ष छ लाख रुपैयाँको सुन्तला बिक्री गरेकोमा यस वर्ष उत्पादन बढेपछि आठ लाख रुपैयाँमा बगान नै व्यापारीलाई दिएको बताउनुभयो। समयमै वर्षा हुँदा उत्पादन राम्रो भएको उहाँको भनाइ छ। अघिल्लो वर्ष औंसा किराले झण्डै एक लाख रुपैयाँ बराबरको सुन्तला नष्ट गरेको उहाँले सुनाउनुभयो।

सोही गाउँका अर्का किसान लोकनाथ कँडेलले गत वर्ष १३ लाख रुपैयाँको सुन्तला बिक्री गरेकोमा यस वर्ष १५ लाख रुपैयाँमा बिक्री गरेको जानकारी दिनुभयो। फल दिने बोट बढ्नु र अनुकूल मौसमका कारण उत्पादनमा वृद्धि भएको उहाँको अनुभव छ।

प्रतिक्रिया दिनुहोस्