अभ्यासमा नेपाल चम्कियो: लगातार दोस्रो जित, एमसिए–११ विरुद्ध ४८ रनको फराकिलो विजय



काठमाडौँ,माघ १७ — आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा पनि प्रभावशाली जित निकालेको छ। भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार भएको खेलमा नेपालले ४८ रनको फराकिलो जित हात पारेको हो। यसअघि बिहीबार सम्पन्न पहिलो अभ्यास खेलमा नेपाल सात विकेटले विजयी भएको थियो।

शनिबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८३ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्‍यो। आरिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ४२ बलमा अविजित ६६ रन जोडे। सन्दीप जोराले २६ बलमा ३१ रन बनाए भने आशिफ शेख २५, गुल्सन झा २३, लोकेश बम १५ र बसिर अहमद ९ रनमा आउट भए।

१८४ रनको लक्ष्य पछ्याएको एमसिएका लागि मुलचन्दनीले सर्वाधिक ४७ रन बनाए पनि अन्य ब्याट्सम्यान टिक्न सकेनन्। पूरै २० ओभर खेल्दा एमसिए आठ विकेटको क्षतिमा १३८ रनमै सीमित रह्यो। नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए भने ललित राजवंशी र गुल्सन झाले समान दुई–दुई विकेट झारे।

पहिलो अभ्यास खेलमा भने १४३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा तीन विकेट गुमाउँदै भेट्टाएको थियो। उक्त खेलमा कप्तान रोहित पौडेलले अविजित ५० रन बनाए। कुशल भुर्तेलले ३८, दीपेन्द्रसिंह ऐरीले २८ र आसिफ शेखले १६ रनको योगदान दिएका थिए। सो खेलमा पहिले ब्याटिङ गरेको एमसिएले २० ओभरमा नौ विकेट गुमाएर १४२ रन बनाएको थियो।

अब विश्वकपअघि नेपालले चेन्नईमा फेब्रुअरी ३ मा यूएई र फेब्रुअरी ५ मा क्यानडासँग वार्म–अप खेल खेल्ने तालिका छ। भारत र श्रीलंकामा संयुक्त रूपमा हुने विश्वकपमा नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै अभियान सुरु गर्नेछ। नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ वेस्ट इन्डिज, इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली जस्ता बलिया टोली समावेश छन्।

प्रतिक्रिया दिनुहोस्