बाक्लो हुस्सुले तराई मधेश प्रभावित: रौतहटमा जनजीवन अस्तव्यस्त, दुर्घटनाको जोखिम बढ्यो



रौतहट,माघ १७ — तराई मधेशका रौतहटसहित विभिन्न जिल्लामा बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ। पछिल्ला दुई दिनदेखि बिहान र बेलुका विशेषगरी रौतहट क्षेत्रमा अत्यधिक हुस्सु लाग्दै आएको छ, जसले सर्वसाधारणको दैनिकी नै अस्तव्यस्त बनाएको छ।

हुस्सुका कारण दृश्यता अत्यन्तै कम हुँदा सवारी साधन सञ्चालनमा ठूलो कठिनाइ भइरहेको छ। मुख्य तथा सहायक सडकहरूमा सवारी आवागमन प्रभावित भएको छ भने पैदल हिँडडुल गर्नसमेत समस्या भइरहेको स्थानीय बासिन्दाले बताएका छन्।

दृश्यता कम हुँदा सडक दुर्घटनाको जोखिम पनि उल्लेख्य रूपमा बढेको छ। विशेषगरी बिहान सबेरै र साँझपख सवारी चलाउँदा अगाडिको दृश्य स्पष्ट नदेखिने अवस्था बनेको छ। मोटरसाइकल, साइकल चालक तथा पैदलयात्रीहरू बढी जोखिममा परेको देखिन्छ।

चिसो बढेसँगै सर्वसाधारणको दैनिकीमा समेत असर परेको छ। बिहान विद्यालय जाने विद्यार्थी, कामकाजका लागि निस्कने मजदुर तथा यात्रुहरूलाई बढी समस्या भइरहेको छ। कतिपय स्थानमा चिसो र बाक्लो हुस्सुकै कारण समयमै गन्तव्यमा पुग्न नसक्ने अवस्था सिर्जना भएको छ।

सम्बन्धित निकायले हुस्सु लागेको समयमा सवारी साधन चलाउँदा अत्यधिक सावधानी अपनाउन आग्रह गरेका छन्। सवारी चलाउँदा बत्ती बाल्ने, गति नियन्त्रणमा राख्ने, सुरक्षित दूरी कायम गर्ने र आवश्यक परे हर्न प्रयोग गर्ने जस्ता सावधानी अपनाउन चालकलाई सुझाव दिइएको छ।

हुस्सुका कारण हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि सबै सवारी चालक तथा पैदलयात्रीलाई सजग र सचेत भई आवागमन गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्