स्वतन्त्र र भयरहित मतदान सुनिश्चित गर्न उपराष्ट्रपतिको जोड



काठमाडौं,माघ १७ — उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्था सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ। सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गत नेपाल टेलिभिजनको ४१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

उपराष्ट्रपति यादवले स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि तथा शान्तिपूर्ण वातावरण निर्माणमा सञ्चारमाध्यमले जिम्मेवारीपूर्वक योगदान पुर्‍याउनुपर्ने उहाँको जोड थियो।

उहाँले सार्वजनिक सेवा प्रसारण संस्थाले नयाँ प्रविधि, डिजिटल प्लेटफर्म र बढ्दो जनअपेक्षालाई आत्मसात् गर्दै प्रसारण सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। डिजिटल युगमा विषयवस्तु, पहुँच, प्रस्तुति र प्रविधिको निरन्तर विस्तार अपरिहार्य रहेको उहाँको भनाइ थियो।

“परम्परागत रेडियो वा टेलिभिजनमा सीमित नभई डिजिटल माध्यममार्फत जनतासम्म पुग्नु आजको चुनौती मात्र होइन, नयाँ पुस्तासम्म राष्ट्रको आवाज पुर्‍याउने अवसर पनि हो,” उहाँले भन्नुभयो, “सरकारी सञ्चारमाध्यमको प्रमुख दायित्व राष्ट्रको आवाज सशक्त बनाउने, नागरिकलाई जानकारीमूलक, शैक्षिक तथा प्रेरणादायी सामग्री उपलब्ध गराउने र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्नु हो।”

नेपाल टेलिभिजन र रेडियो नेपालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सांस्कृतिक विविधता र लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै उपराष्ट्रपतिले सार्वजनिक सेवा प्रसारणलाई अझ सबल, प्रभावकारी र जनमुखी बनाउन सबैले मिलेर योगदान गर्न आग्रह गर्नुभयो। राष्ट्रको आवाज विश्वभर पुर्‍याउने, नागरिकलाई सशक्त बनाउने र समृद्ध नेपाल निर्माणमा सहयोग पुर्‍याउने सामूहिक जिम्मेवारी पूरा गर्न उहाँले आह्वान गर्नुभयो।पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उहाँले सत्यतथ्य, निष्पक्षता र जनताको आवाज उजागर गर्नु पत्रकारिताको दायित्व भएको बताउनुभयो। पत्रकारितामा समावेशिता, समान अवसर र सबैको प्रतिनिधित्व लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको आधार भएको उहाँको भनाइ थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले राजनीतिक घटनाक्रम वा प्राकृतिक विपत्तिका बेला निष्पक्ष एवं आधिकारिक सूचनाको संवाहकका रूपमा नेपाल टेलिभिजनले भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकताअनुसार सार्वजनिक प्रसारण संस्था सञ्चालन भइरहेको जानकारी दिनुभयो।

कार्यक्रममा कामु प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले नेपाल टेलिभिजनले दैनिक सात भाषामा समाचार, २५ भाषामा साप्ताहिक कार्यक्रम तथा थप दुई भाषामा साप्ताहिक समाचार प्रसारण गर्दै आएको जानकारी दिनुभयो। विभिन्न पेसागत सङ्घसंस्थाका प्रतिनिधिले संस्थागत सुदृढीकरण, विषयवस्तुको गुणस्तर र कर्मचारी वृत्तिविकासका विषयमा ध्यानाकर्षण गराएका थिए।

समारोहमा उपराष्ट्रपतिले ४०, ३० र २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गर्नुभयो भने उत्कृष्ट कर्मचारी, पत्रकार र कार्यक्रम निर्मातालाई सम्मान गरिएको थियो। विसं २०४१ माघ १७ गते स्थापना भएको नेपाल टेलिभिजन समयअनुसार प्रविधि र प्रवृत्तिमा सुधार गर्दै सार्वजनिक सेवा प्रसारण संस्थाका रूपमा अघि बढिरहेको छ। हाल यसले पाँचवटा च्यानलमार्फत विश्वव्यापी पहुँच बनाएको छ भने यसै वर्षदेखि अङ्ग्रेजी च्यानल ‘एनटिभी वर्ल्ड’ पनि सञ्चालनमा ल्याएको छ। देशभित्र भू–सतही प्रसारणमार्फत ५२ प्रतिशत भू–भाग र ७२ प्रतिशत जनसंख्यामा पहुँच पुगेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्