टाइगर कप भलिबल: पुरुषतर्फ गण्डकी च्याम्पियन



पोखरा,माघ १७— छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि गण्डकी प्रदेश भलिबल सङ्घले जितेको छ। पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न फाइनल खेलमा गण्डकीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।

पहिलो सेट २५–२३ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित सुनिश्चित गर्‍यो। गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै टाइगर कप उचाल्न सफल भयो। उपाधिसँगै गण्डकीले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

उपविजेता बनेको नेपाल पुलिस क्लबले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँमा चित्त बुझायो भने तेस्रो स्थान हासिल गरेको पर्वत जिल्ला भलिबल सङ्घले २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पायो। तेस्रो स्थानका लागि भएको खेलमा पर्वतले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।

प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडी गण्डकीका मुस्ताफा खान घोषित भए। उनले २६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गरे। त्यसैगरी सर्भर अद्नान खान, लिबिरो भीमबहादुर गाहा, सेटर बलराम गुरुङ, ब्लकर फहद राज, स्पाइकर फकर वाट्टु तथा प्रशिक्षक रमेश केसी विधागततर्फ उत्कृष्ट घोषित भए। उनीहरूले जनही ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाए।

महिलातर्फको उपाधि न्यू डायमन्ड स्पोर्ट्स क्लबले जितेको थियो। नेपाल पुलिस क्लब उपविजेता बनेको प्रतियोगितामा थाइल्यान्ड क्विन्स तेस्रो स्थानमा रह्यो। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्