हामी रियालिटी राजनीतिमा विश्वास गर्छौं, डिजिटल ब्रेनवास काम छैन : डा. प्रकाशशरण महत
काठमाडौं, माघ १७ । नेपाली कांग्रेसका नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस रियालिटीमा आधारित राजनीति गर्ने पार्टी भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नुवाकोट जिल्ला कार्यसमितिको कार्यक्रममा बोल्दै उनले डिजिटल माध्यमबाट गरिने “ब्रेनवास” दीर्घकालीन रूपमा सफल नहुने दाबी गरे।
उनले नुवाकोटका ठूलो सङ्ख्यामा मतदाता काठमाडौंमा बसोबास गर्दै आएको उल्लेख गर्दै फागुन २१मा सबै मतदाता नुवाकोटभित्रै केन्द्रित हुने विश्वास व्यक्त गरे। नेपाली कांग्रेस केवल पुरानो पार्टी मात्र नभई सुख–दुःखमा जनताको साथमा उभिएको पार्टी भएको उनले बताए।
डा. महतले कांग्रेस अनुभव, ऊर्जा र कठिन परिस्थितिमा पनि नडगमगाउने राजनीतिक शक्ति भएको उल्लेख गरे। नयाँ दलहरू भने चुनौतीपूर्ण अवस्था आउनासाथ कमजोर हुने र हराउने प्रवृत्ति देखिएको उनको भनाइ थियो। बीपी कोइरालाले स्थापना गरेको कांग्रेस नेपाली जनताको अधिकार सुनिश्चित गर्न र गरिबीबाट मुक्ति दिलाउने उद्देश्यसहित निर्माण भएको पार्टी भएको उनले स्मरण गराए।
उनले भदौ २३ र २४ का घटनाले नेपाली समाजको मानसिक अवस्था प्रभावित भएको बताउँदै सामाजिक सञ्जालले थप चलखेल र भ्रम सिर्जना गर्ने वातावरण बनेको टिप्पणी गरे। “भर्चुअल र रियालिटी फरक कुरा हुन्, सिनेमा हेर्दा केही समय अर्कै दुनियाँमा पुगेजस्तो लागे पनि वास्तविकता फरक हुन्छ,” उनले भने।
नेपाली कांग्रेस गाउँ–गाउँमा प्रत्यक्ष रूपमा जनतासँग जोडिएर सडक, शिक्षा, खानेपानी र स्वास्थ्य सेवा विस्तारमा केन्द्रित रहेको उनले बताए। साथै, युवा पुस्ता सचेत र जिम्मेवार बन्नुपर्नेमा पनि उनले जोड दिए।
भिडियोका लागि तलको लिंक क्लिक गर्नुहोस्

