नुवाकोटको लक्ष्मेश्वरी माविको ६४ औँ वार्षिक उत्सव तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न
नुवाकोट, माघ १७ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ३ रुपिङमा अवस्थित श्री लक्ष्मेश्वरी माध्यमिक विद्यालयको ६४ औँ वार्षिक उत्सव, शिक्षक विदाइ तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदी प्रमुख अतिथि तथा बागमती प्रदेश सभा सदस्य रामप्रसाद ढुंगाना विशेष अतिथिका रूपमा उपस्थित थिए। साथै बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगतबहादुर गुरुङ, उपमेयर शिवप्रसाद दाहाल लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा विद्यालयले आयोजना गरेको खेलकुद सप्ताहमा सहभागी विद्यार्थीहरू र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई विशेष सम्मान गरिएको थियो। त्यसैगरी विद्यालयका पूर्व शिक्षक तथा पूर्व प्रधानाध्यापकहरूलाई विदाइ तथा सम्मान कार्यक्रम पनि सम्पन्न गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि, सुरक्षाकर्मी, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वार्षिक उत्सवले विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ भएको सहभागीहरूले बताएका छन्।

