“सिंहदरबार जलाउनेलाई भोट दिने कि सिंहदरबार बनाउनेलाई?” – जगदिश्वर नरसिंह केसी



काठमाडौं, माघ १८ । नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार जगदिश्वर नरसिंह केसीले भदौ २४ मा भएको घटना विध्वंसकारी प्रवृत्तिबाट प्रभावित भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुरुवातमा उठाइएका केही मुद्दा सान्दर्भिक भए पनि आन्दोलन पछि गलत दिशातर्फ मोडिएको दाबी गरे।

केसीले उक्त समयमा सामाजिक सञ्जाल खुलाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता जस्ता विषयहरू उठेको र ती मागहरू मन छुने तथा सान्दर्भिक रहेको बताए। “जेनजी युवाहरूका केही मागलाई हामीले पनि जायज ठानेका थियौँ,” उनले भने, “तर २३ गते नै आन्दोलनकर्ताहरूबाट आन्दोलन नियन्त्रण बाहिर गएको आशयको विज्ञप्ति आएपछि आन्दोलन विध्वंसतर्फ मोडिएको देखियो।”

देशलाई अस्थिर बनाउने, संरचना ध्वस्त पार्ने र हिंसात्मक गतिविधितर्फ उन्मुख प्रवृत्ति स्वीकार्य नहुने उनले उल्लेख गरे। सोही प्रसंगमा उनले प्रश्न गरे, “अब सिंहदरबार जलाउनेलाई भोट दिने कि सिंहदरबार बनाउनेलाई?”

उनका अनुसार आगामी निर्वाचन देश निर्माणमा विश्वास गर्ने शक्ति र विध्वंसतर्फ उन्मुख प्रवृत्तिबीचको छनोट हुने बताए। मतदाताले निर्वाचनमा विवेकपूर्ण निर्णय गर्नुपर्नेमा उनले जोड दिए।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्