राष्ट्रिय लिगमा आज तीन खेल हुँदै
काठमाडौं, माघ १८ । दुई दिनको विश्रामपछि एन्फा राष्ट्रिय लिग अन्तर्गत आज तीन खेल आयोजना हुँदैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको पहिलो खेलमा काँक्रेबिहार युवा क्लब र प्लानिङ ब्वाइज युनाइटेड आमनेसामने हुनेछन्। प्लानिङ ब्वाइजले चार खेलबाट दुई जित र एक बराबरीसहित ७ अंक जोड्दै तालिकाको सातौं स्थानमा रहँदा काँक्रेबिहारले अहिलेसम्म अंक जोड्न नसकी पुछारबाट दोस्रो अर्थात् १६औँ स्थानमा छ।
आज दिउँसो ३ बजे श्री भगवती क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने उक्त खेलमा आर्मी चार खेलसम्म अपराजित रहँदै ९ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ। श्री भगवती क्लब भने चार अंकसहित तालिकाको १०औँ स्थानमा रहेको छ।
दिनको अन्तिम खेलमा फ्रेन्ड्स क्लब र मनाङ मस्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। साँझ ६:३० बजे दशरथ रंगशालामा हुने खेलमा मनाङले चार खेलमा एक जित मात्र निकाल्दै तालिकाको १५औँ स्थान ओगटेको छ। फ्रेन्ड्स क्लबले एक जित र एक बराबरीसहित चार अंक जोड्दै नवौं स्थानमा रहेको छ।
हालसम्म चार खेलमा सतप्रतिशत जित निकाल्दै नेपाल एपीएफ क्लब १२ अंकसहित शीर्ष स्थानमा छ। एनआरटी र मछिन्द्र क्लब समान अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने लालिगुराँस एसोसिएसन १० अंकसहित चौथो स्थानमा रहेको छ।
कुल १७ टोली सहभागी राष्ट्रिय लिग सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन भइरहेको छ। तीन वर्षदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजना हुन नसकेपछि एन्फाले राष्ट्रिय लिग सञ्चालन गरेको हो।प्रतियोगिताको विजेता टोलीले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

