साततले दरबार पुनर्निर्माणमा देखिएका समस्या समाधानका लागि नगरप्रमुख श्रेष्ठको सहजिकरण



नुवाकोट, माघ १८ । नुवाकोटको ऐतिहासिक साततले दरबार र तलेजु भवानी मन्दिरको पुनर्निर्माण कार्यका क्रममा देखिएका विभिन्न समस्याको समाधान तथा सहजिकरणका लागि विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ सक्रिय रूपमा जुटेका छन्।

चीन सरकारको सहयोगमा जारी पुनर्निर्माण कार्य अन्तर्गत सडक पहुँचमार्ग विस्तार, जीर्ण संरचना हटाउने कामसँगै जग सतह खन्ने क्रममा उत्पन्न भएका विकार, ढल निकास व्यवस्थापन तथा भूमिसीमाङ्कन सम्बन्धी अस्पष्टता जस्ता विषयमा समस्या देखिएको थियो। सोही विषयमा नगरप्रमुख श्रेष्ठ स्थलगत रूपमा उपस्थित भई सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूसँग परामर्श गर्दै समाधान खोज्ने प्रयास गरिरहेको नगरपालिकाले जनाएको छ।

स्थानीय सरकार प्रमुखको भूमिकामा उनले पुनर्निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउन आवश्यक समन्वय र सहजिकरण गरिरहेको बताइएको छ। ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको दरबार क्षेत्रको पुनर्निर्माणलाई प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

स्थानीयवासी तथा सरोकारवालाले पनि पुनर्निर्माण कार्य समयमै सम्पन्न होस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्