पासाङ ल्हामु सडकखण्डमा सुख्खा पहिरो, रसुवागढी नाका जाने सडक अवरुद्ध



रसुवा, माघ १८ । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ गढीस्थित पासाङ ल्हामु सडकखण्डमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। गएराति करिब ८:३० बजे पहिरो खसेपछि रसुवागढी अन्तर्राष्ट्रिय सिमानाका जाने मुख्य सडक प्रभावित बनेको हो।

चीन सरकारको सहयोगमा सञ्चालन भइरहेको “चाइना एड स्याफ्रुबेसी–रसुवागढी राजमार्ग मर्मत तथा स्तरोन्नति परियोजना” अन्तर्गत सडक मर्मत भइरहेको स्थानमै पहिरो गएको जनाइएको छ। उक्त स्थान रसुवागढी नाकाबाट करिब ४ सय मिटर दक्षिणतर्फ पर्दछ।

घटनापछि उक्त सडकखण्ड हुँदै आवतजावत गर्ने सवारीसाधन र यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ। सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ।

सडक पूर्ण रूपमा सुचारु हुन आज दिनभर लाग्न सक्ने अनुमान गरिएको छ। पहिरोका कारण अन्तर्राष्ट्रिय नाका आवतजावत प्रभावित बनेको छ।

प्रतिक्रिया दिनुहोस्