नारायणघाट–बुटवल सडक पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न



नवलपुर, माघ १८ । राष्ट्रिय गौरवको नारायणघाट–बुटवल सडक आयोजनाको पूर्वी खण्डमा पर्ने सबै ३४ पुल निर्माण सम्पन्न भएका छन्। तीमध्ये ३३ पुलबाट सवारी सञ्चालन भइसकेको छ भने अरुण खोला पुल छिट्टै सञ्चालनमा ल्याइने योजना कार्यालयले जनाएको छ।

सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार २२ साना र १२ ठूला पुल निर्माण सम्पन्न भएका हुन्। दाउन्ने क्षेत्रको जटिल भौगोलिक बनावटका कारण केही कल्भर्ट र सडक ढलानको काम बाँकी रहे पनि अन्य अधिकांश खण्डमा दुईतर्फी कालोपत्र सडक सञ्चालनमा आइसकेको छ।

हाल पूर्वी खण्डको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। लेन मार्किङ र सर्भिस लेन निर्माणको काम पनि अघि बढिरहेको छ। दाउन्ने क्षेत्रमा भने डाँडा काट्ने, कल्भर्ट निर्माण र पहिरो रोकथामका काम जारी छन्।

११४ किमी लामो सडक दुई खण्डमा विभाजन गरी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले निर्माण गरिरहेको छ। करिब १७ अर्ब लागतको आयोजनामा एडीबीको ८५ प्रतिशत ऋण सहयोग रहेको छ।

प्रतिक्रिया दिनुहोस्