सत्ताको लोभ छैन, पुराना नेताभन्दा फरक छु : पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौं, माघ १८ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफूलाई सत्ताको लोभ नभएको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले आफूलाई पुराना नेताहरूको भीडभन्दा फरक रहेको दाबी गरे।
“धेरैलाई लाग्न सक्छ म र मजस्ता पुराना नेताहरू उस्तै हौँ, तर म स्पष्ट भन्न चाहन्छु—देशलाई बन्धक बनाउने सत्ताको भागबण्डाको सम्झौतामा म सहभागी हुन चाहन्न,” उनले भने, “म फरक छु, यो प्रमाणित गरेरै छाड्नेछु।”
प्रचण्डले युवापुस्ताले अहिले उठाइरहेका एजेन्डा आफूले जनयुद्धकालदेखि उठाउँदै आएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षमा रहेको बताए। संसदीय व्यवस्थाभित्रको सत्ता संघर्षले देशलाई पछाडि धकेलेको भन्दै यसमा सुधार आवश्यक रहेको उनको भनाइ थियो।
उनले आफू इतिहासमा नकारात्मक भूमिकासहित स्मरण हुन नचाहेको पनि बताए। “म खलनायक बनेर इतिहासमा हराउन चाहन्न, देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम लिने छैन,” उनले भने। सामाजिक सञ्जालमा फैलिने भ्रमप्रति सचेत रहन आग्रह गर्दै उनले सबै चम्किने कुरा हिरा नहुने टिप्पणीसमेत गरे।

