वर्षा गराउने प्रणाली पुनः सक्रिय, पश्चिमबाट मौसम बदली सुरु



काठमाडौँ, माघ १८ । देशमा फेरि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली क्रमशः बलियो बन्दै गएपछि आगामी दिनमा विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ।

मौसमविद्का अनुसार आइतबारदेखि सुदूरपश्चिम क्षेत्रमा यसको प्रभाव देखिन सुरु भएको छ। सोमबार प्रणाली पश्चिमका उच्च पहाडी र हिमाली भूभागतर्फ फैलिनेछ भने मङ्गलबारसम्म आइपुग्दा यसको प्रभाव मध्य नेपालसम्म पुग्ने अनुमान गरिएको छ। पूर्ण रूपमा आकाश ढाकिने र चिसो बढ्ने सम्भावना रहेको छ।

यसपटकको प्रणाली अघिल्लो साताको जस्तो धेरै शक्तिशाली नभए पनि पश्चिम नेपालमा पहिले नै चिसो बढिसकेको अवस्थामा मध्यम खालको वर्षा तथा हिमपात गराउन सक्ने बताइएको छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हिमपात र वर्षा हुने सम्भावना उच्च छ।

कोशी र बागमती प्रदेशका माथिल्लो भूभागमा पनि आंशिक प्रभाव पर्न सक्ने भए पनि तराई तथा मधेस क्षेत्रमा असर न्यून रहने जनाइएको छ। काठमाडौँ उपत्यकामा मङ्गलबार राति हल्का वर्षा हुन सक्ने अनुमान छ।

सोमबार तराईका केही स्थानमा हुस्सु–कुहिरो लाग्ने सम्भावना छ भने देशका अधिकांश हिमाली क्षेत्रमा बादल रहनेछ। मङ्गलबार भने पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात बढ्ने देखिएको छ।विभागले चिसो बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन र हिमाली क्षेत्रमा यात्रा गर्नेले मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्