नारायणी नदीमा नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा
नवलपरासी (बर्दघाट–सुस्तापूर्व),माघ १९ । गैँडाकोट — नारायणी नदीमा जल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपालकै पहिलो ‘राइनो क्रुज’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। आइतबार उद्घाटनसँगै नियमित सेवा सुरु गरिएको हो।
गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले क्रुजले क्षेत्रको पर्यटन विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्दै देवघाटधाम र त्रिवेणीधामसम्म सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। क्रुज सञ्चालनका लागि आवश्यक नदी व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाइएको छ।
सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका अनुसार क्रुजले देवघाटदेखि दक्षिणतर्फ ४० किलोमिटरसम्म जलयात्रा गर्न अनुमति पाएको छ। साढे दुई तले क्रुजमा १५० यात्रु क्षमतासहित ब्रेकफास्ट, लन्च, डिनर क्रुजिङ तथा विभिन्न समारोह प्याकेज उपलब्ध छन्। साधारण टिकट शुल्क ५०० रुपैयाँ तोकिएको छ।
परियोजनामा करिब ५० करोड रुपैयाँ लगानी गरिएको जनाउँदै सञ्चालकले यसले स्थानीय रोजगारी, आर्थिक गतिविधि र धार्मिक–पर्यटकीय गन्तव्यहरू जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। क्रुज र होटलमा गरी करिब ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

